काठमाडाैं । हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको छ । एयरलाइन्सले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बर देखि नै उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको जानकारी गराएको हो ।
एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौँबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्च हवाई भाडा लिएको भनी आएको जनगुनासो प्रति गम्भीर ध्यानाकर्षण समेत गरेको छ ।
एयरलाइन्सले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडा दर कायम गरेको पनि जानकारी गराएको छ ।
कसैले कालोबजारी गरिएको भेटिएमा नेपालको सम्बन्धित कानुन अनुसार कारबाही गरिने समेत विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘हिमालय एयरलाइन्सले सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकिएको छ । साथै ट्राभल एजेन्टहरूलाई हप्तामा कम्तीमा दुई पटक इमेल पठाइरहेको छ । यदि कसैले कालोबजारी गरिएको भेटिएमा नेपालको सम्बन्धित कानुन अनुसार कारबाही गरिने छ ।’
अर्थ सन्जाल