सहकारी ठगहरूलाई कारवाही गर्ने मात्रै होइन, बचतकर्ताको रकम पनि फिर्ता गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका छन् । बुधबार सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए ।

‘हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,’प्रधानमन्त्री ओलीले भने,’सहकारी ठगहरूलाई कारवाही गर्ने मात्र होइन,बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’

मन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने बताउँदै यसले सुशासनको प्रणालीका रुपमा गति लिनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे।

‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ,’उनले भने,’भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *