प्राइम कमर्शियल बैंकको यस वर्षको १६ प्रतिशत बोनस शेयर साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरेपश्चात् कायम शेयरधनीहरुले कर तिरेपछि मात्र पाउने भएका छन् । बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयरसँगै शून्य दशमलव ६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको छ ।
तर उक्त कर वापतको नगद २०७६ साल फागुन २८ गतेसम्म कायम शेयरधनीहरुको हकमा मात्र लागू हुने बैंकले जानकारी दिएको हो । नगद लाभांशबाट विगत आर्थिक वर्षहरुको कर रकम असुल गरि बाँकी रकम मात्र वितरण गर्ने बैंकको भनाई छ ।
प्राइम बैंकले साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरी फागुन २९ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । यसर्थ फागुन २८ गतेसम्म कायम शेयरधनीहरुमा बोनस शेयर वापतको कर छुट हुने व्यवस्था रहेकाले बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकिएको जानकारी बैंकले दिएको छ ।
कर वापतको रकम भुक्तानी गर्दा शेयरधनी नम्बर, शेयरधनीको नाम, शेयरको प्रकार र भुक्तानी गरिने करको सम्बन्धीत आर्थिक वर्ष समेत खुलाउन बैंकले अनुरोध गरेको छ ।