भदौमा घट्यो बैंकहरुको बेस रेट, कुनको कतिमा झर्यो ?

काठमाडौं । बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । पछिल्लो महिना मात्रै वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) ०.२५ प्रतिशत विन्दुले घटेको छ । भदौ महिनामा बैंकहरुको बेस रेट घटेको छ । बैंकहरुले पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका कारण बैंकहरुको बेस रेट पनि घट्दै गएको हो ।

भदौमा वाणिज्य बैंकहरुको औसत बेस रेट ७.९२ प्रतिशत कायम भएको छ । यसअघि साउनमा २० वाणिज्य बैंकहरुको औसत बेस रेट ८.१६ प्रतिशत थियो ।

पछिल्लो तथ्यांकअनुसार भदौ महिनामा सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकको बेस रेट रहेको छ । यस बैंकको बेस रेट जम्मा ६.२२ प्रतिशत रहेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ६.६६ प्रतिशत छ । अरु १२ बैंकको बेस रेट ८ प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा धेरै बेस रेट एनआइसी एसिया बैंकको ९.२२ प्रतिशत छ ।

त्यस्तै, एभरेष्ट बैंककाे बेस रेट ७.२९ प्रतिशत, नबिल बैंककाे ७.४२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ७.६४ प्रतिशत, ग्लोबल आईएमई बैंककाे ७.७७ प्रतिशत, सानिमा बैंककाे ७.८३ प्रतिशत, सिद्धार्थ बैंककाे ७.९३ प्रतिशत, प्रभु बैंककाे ७.९५ प्रतिशत, कृषि विकास बैंककाे ७.९६ प्रतिशत, नेपाल बैंककाे ७.५४ प्रतिशत र एनएमबी बैंक ७.९८ प्रतिशत रहेकाे छ ।

त्यसैगरी माछापुच्छ्रे बैंककाे बेस रेट ८ प्रतिशत, नेपाल एसबीआई बैंककाे ८.११ प्रतिशत, लक्ष्मी सनराइज बैंककाे ७.३९ प्रतिशत, सिटिजन्स बैंककाे ८.४२ प्रतिशत, हिमालयन बैंककाे ८.५३ प्रतिशत, प्राइम वाणिज्य बैंककाे ८.६७ प्रतिशत र कुमारी बैंककाे ८.९० प्रतिशत रहेकाे छ ।

बैंकहरुले बेस रेटमा निश्चित प्रिमियम थपेर ब्याजदर तय गर्छन् । बेस रेट सस्तो भएमात्र कर्जाको ब्याजदर पनि सस्तो हुन जान्छ । अनि, मात्र ऋणीले राहत पाउन सक्छन् ।

आर्थिक मन्दी लगायतका कारण नयाँ कर्जा लिएर काम सुरु गर्नेहरुको कमी रहेको देखिन्छ । यसअघि कर्जा लिएकाहरुले साँवा–ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेकाले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार अपेक्षा अनुसार हुन नसकेको हो । तर ब्याजदर निरन्तर घटेको र केन्द्रीय बैंकले पनि क्रमशः सहज नीति लिंदै गएकाले विस्तारै कर्जा प्रवाह हुने संकेत देखिएको बैंकरहरुको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *