काठमाडौं। बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता तत्कालका लागि स्थगित भएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता स्थगित भएको हो ।
नेपाल, भारत र बंगलादेशबीच साउन १३ मा सम्झौता गर्ने तयारी थियो । बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले सम्झौताको मिति पछि सार्न बंगलादेशले नेपाललाई सम्झौता समय स्थगित गर्न पत्र पठाएको बताए । ‘नयाँ मिति कन्फर्म गरेर भन्छौं भनेका छन्,’ उनले भने ।
यसअघि नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा बिजुली खरिदबिक्रीको सम्झौता हुने जनाइएको थियो । लगत्तै पोखरामा नेपाल र बंगलादेशको सहसचिवस्तरीय र सचिवस्तरीय बैठक बस्नेसमेत तय भएको थियो ।
नेपाल र बङ्गलादेशबीच हुने सम्झौतापछि भारतीय प्रसारणलाईको प्रयोगबाट बिजुली किनबेच हुनेछ । भारतीय प्रसारणलाई प्रयोगबापत तोकिएको रकम तिरेर बङ्गलादेश बिजुली पुग्नेछ । काठमाडौँमा हुने भनिएको बैठकले प्रसारण लाईनको रकम र तोकिएको रकम कसले तिर्ने भन्ने तय हुन्थ्यो ।
बङ्गलादेशले पठाएको पत्रमा अर्को बैठक कहिले बस्ने भन्ने बारे उल्लेख छैन । यद्यपि, देशको आन्तरिक मामिला सुल्झिएपछि बैठक गर्नेगरी प्रतिबद्धता आएको छ । नेपालसँग बिजुली किन्नका लागि बङ्गलादेशको मन्त्रीपरिषद् बैठकले निर्णय नै गरिसकेको छ ।
यसबाहेक बङ्गलादेशले नेपालबाट लैजाने बिजुलीको मूल्य प्रतियुनिट ६.४० सेन्ट हुन आउँछ । यो ८ रुपैयाँ हाराहारी हो ।







