एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने

काठमाडाैं । एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा रहेको एनआइबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ मिल्स लिमिटेडबीच विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा एनआइएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे तथा जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका हुन्।

एनआइबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फण्ड हो।

सन् २००५मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स लिमिटेड नेपालको प्रिमियर धागो उत्पादक कम्पनी हो। कम्पनीले विशेष गरेर पोलिस्टर, पोलिस्टर भिस्कोज मिश्रित र एक्रिलिक धागो उत्पादन गर्छ।

कम्पनीको रुपन्देही, कमहरियास्थित कारखाना विष्णु न्यौपानेको नेतृत्वमा रहेको सौरभ ग्रुपको एक हिस्सा हो।

जगदम्बा स्पिनिङ मिल्सले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरका सामानहरू उत्पादन गर्दै विश्वभर निर्यात गर्दै आएको छ। यस लगानीले जगदम्बा स्पिनिङ मिल्सलाई उत्कृष्ट धागो उत्पादकको रूपमा स्थापित गर्न र नाफा बढाउन मद्दत गर्ने बताइएको छ।

जगदम्बा स्पिनिङ मिल्सले निकट भविष्यमा आइपिओ ल्याउने योजना बनाएको छ जसले गर्दा कम्पनीको क्षमता ४० प्रतिशतले विस्तार गर्न सकिनेछ।

जगदम्बा स्पिनिङ मिल्सले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता रहेको छ।

यसको उत्पादनको लगभग ९५ प्रतिशत मुख्यत: भारतीय बजारमा निर्यात गरिन्छ। कम्पनीले दक्षिण एसियाली क्षेत्रलाई समावेश गर्न आफ्नो निर्यात रणनीतिलाई विविधीकरण गर्ने योजना बनाएको छ। जेएसएमले झण्डै एक हजार कामदारलाई रोजगारी दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *