काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार रू. १२ अर्ब ८१ करोड चुक्ता पूँजी भएको कम्पनीले दोस्रो त्रैमाससम्म रू. ३३ करोड ७७ लाख नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले रू. २९ करोड २४ लाख नाफा आर्जन गरेको थियो । चालू आवमा कम्पनीको नाफा १५.४९ प्रतिशत वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमाससम्ममा भने कम्पनीले रू. ४७ करोड ५६ लाख घाटा व्यहोरेको थियो ।
दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म कम्पनीले रू. ३ अर्ब ४१ करोड ४२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले रू. ३ अर्ब ८४ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.२९ प्रतिशतले घटेको छ ।
चालू आवमा कम्पनीले रू. ३ अर्ब ३ करोड ६४ लाख खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवको यही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३ अर्ब ३९ करोड ३४ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा रू. ४ अर्ब २४ करोड, महाविपत्ति कोषमा रू. ३० करोड ८१ लाख, रिटेन्ड अर्निङमा रू. ५५ करोड ४८ लाख र अन्य इक्विटीमा रू. ७५ करोड ४० लाख छ ।
सो अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर रू. २.६४ कायम भएको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा भने प्रतिशेयर आम्दानी रू. २.२८ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ .७५ छ ।






