काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ।संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्दैछ। आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यद्यपि सहकारीहरूको बचत अपचलनमा गृहमन्त्रीसमेतको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति माग गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनलाई रोष्ट्रममा जान नदिने बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।






