काठमाडौं । सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ। वैदेशिक रोजगार तथा भ्रमण भिसामा जानेहरूलाई लक्षित गर्दै नक्कली बैंक ब्यालेन्स सर्टिफिकेट बनाएको पाइएपछि बैंकविरुद्ध उजुरी परेको हो।
बैंकको महाबौद्धस्थित शाखाले आर्क ग्लोबल कन्सलटेन्सीसँग मिलेर वैदेशिक रोजगार तथा भ्रमण भिसामा जानेहरूका लागि खाता खोल्ने, चेक तयार गरिदिने र अर्को दिन ९०लाखसम्म ग्राहकको खातामा देखाउने गरेको समाचार अर्थसञ्जाल डटकममा प्रकाशित भएको थियो। प्रमाणसहित सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि सिटीजन्स बैंकविरुद्ध राष्ट्र बैंकमा उजुरी परेको हो।
बैंक र कन्सलटेन्सीको मिलेमतोमा एक लाखसम्म रकम देखाउँदा पाँच सय रुपैयाँका दरले कमिसन खाने गरेको पाइएको छ।
‘आर्क ग्लोबल नामक कन्सलटेन्सीका प्रवन्ध निर्देशक प्रेम प्रकाश ढकालले विभिन्न माध्यममार्फत वैदेशिक रोजगारमा जानेहरूको सूचि तयार गर्ने, फोन सम्पर्क गरेर बोलाउने र सिटीजन्स बैंकको उक्त शाखामा खाता खोल्न लगाउने गरेको पाइएको छ। त्यस्ता व्यक्तिको खातामा बैंक र कन्सलटेन्सीले आफैँले पैसा जम्मा गर्ने, आफैँले ग्राहकको खाली चेकमा हस्ताक्षर गराउने, हस्ताक्षर भेरिफाई गराउने र बाँकि रहेको चेक आफैँले रद्द गर्ने जस्तो वित्तीय आपराधिक कार्य गरेको प्रमाणसहित उजुरी पत्र पेस गरेका छौं,’ राष्ट्र बैंकमा दर्ता गरिएको उजुरीमा भनिएको छ।
उजुरीमा बैंकका उच्च पदस्थ कर्मचारीको बैंक खाताको छानविनका साथै शंकास्पद बैंक खाताको छानविन गर्न माग गरिएको छ।
केही दिन पहिले अर्थसञ्जाल डटकममा ‘विदेश जाने युवाबाट पैसा असुल्ने सिटिजन्स बैंक र आर्क ग्लोबलको अनुचित धन्दा (प्रमाणसहित)‘ शीर्षकमा समाचार प्रकाशन गरेको थियो।









