विश्वकप क्रिकेट : भारतको बलिङसामू चलेन अष्ट्रेलियाको ब्याट, १९९ रनमा अलआउट

काठमाडौं । आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाले घरेलु टोली भारतलाई २ सय रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा १ सय ९९ रनमा अलआउट भयो ।

अष्ट्रेलियाका स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै ओपनर डेविड वार्नरले ५२ बलमा ६ चौकासहित ४१ रन बनाए । ओपनर मिचेल मार्श तीव्र गतिका बलर जस्प्रित बुमराहको तेस्रो ओभरको दोस्रो बलमा स्लिपमा विराट कोहलीबाट शून्यमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि वार्नर र स्मिथले ६९ रनको साझेदारी गरेका थिए । वार्नर कुलदीप यादवको बलमा कट एण्ड बोल्ड आउट भए । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले ३६ रनको साझेदारी गरेका थिए । रवीन्द्र जडेजाले २८औं ओभरको पहिलो बलमा स्मिथलाई बोल्ड आउट गरे । दुई ओभरपछि जडेजा कै बलमा लाबुसेन एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए ।

लाबुसेन आउट भएको दुई बलपछि एलेक्स केरी शून्यमा एलबीडब्लू आउट भए । जडेजाले दुई विकेट एकै ओभरमा लिएपछि भारत खेलमा हाबी भएको थियो । रविचन्द्रन आश्विनको बलमा क्यामरन ग्रीन ८ रनमा आउट भए । कप्तान प्याट कमिन्स २४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । मिचेल स्टार्क ३५ बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले १० ओभरमा २ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले समान एक विकेट लिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *