मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

म्याग्दी । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैलेलगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् ।

स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन् । मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय सुशिलबाबु थकालीले जानकारी दिए । विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यसवर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु गरएको मार्फाका स्याउ किसान दीप लालचनले बताए ।

अहिले स्याउ खरिद गर्नका लागि स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारी स्याउ बगैँचामा पुगेका किसानहरूले बताएका छन् । मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीले स्याउको बगैँचा नै ठेक्कामा लिन्छन् । धादिङ, काठमाण्डौँ लगायतका ठाउँबाट व्यापारी स्याउ खरिद गर्न मुस्ताङ पुगेका हुन् । मुस्ताङको स्याउ खरिद गर्न छिमेकी जिल्ला म्याग्दीसहित पोखरा, चिवतनलगायत ठाउँबाट पनि व्यापारी पुग्ने गरेकाे कृषक लालचनले बताए । उनका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारी र कामदारले स्याउको बगैँचा कुरेर बसिरहेका छन् ।

मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै छ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । केही समयदेखि उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली तथा विदेशी बजारमा पुग्ने गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *