काभ्रे प्रशासन बन्यो विदेशीलाई नागरिकता बेच्ने ‘अखडा’: दर्जनौं विदेशीलाई नेपाली नागरिकता

काभ्रे । विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप चार जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ ।

प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेपछि खुलेको अनुसन्धानबाट चारजना चिनियाँ मूलका नागरिकले काभ्रेबाट गैरकानुनी तरिकाबाट नागरिकता र राहदानी बनाएको खुलासा भएको हो । दावाले नागरिकता बनाएकै दिन वि.सं. २०७४ पुष २० गते सोही ठेगाना र बाबुको नाम पनि एउटै राखेर जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पासाङ लामाले नागरिकता लिएका थिए । उनको नागरिकता नम्बर ११८६५ हो । दावा र पासाङका बाबुको नाम पेमा तामाङ राखिएको छ भने ठेगाना नमोबुद्ध ११ राखिएको छ ।

यिनै दुई जना दावा र पासाङले कर्मचारीको सेटिङ्गमा अनुसूची गायव बनाएर अभिलेख राखेर नागरिकता लिएका हुन् । प्रहरीको सीआईबीले सुन तस्करकै अनुसन्धानका क्रममा दावासँग सम्बन्ध भएका थप चारजना चिनियाँ नागरिक पक्राउ परेसँगै काभ्रेबाट राहदानी लिएको खुलासा भएको हो । पासाङको राहदानी नम्बर १०७४२५७१ हो । उनको राहदानी २०७४ माघ ११ गते बिहीबार जारी भएको हो ।

चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएको जानकारी दिँदै स्रोतले बतायो–‘राम र सोनामले एकै दिन २०७८ पुष ८ गते काभ्रेबाट राहदानी लिएका हुन् । उनीहरूले लिएको राहदानीअनुसारको नागरिकता नम्बर भने गृहमन्त्रालयको रेकर्डमा भेटिँदैन ।’ राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रष्ट छैन ।

१२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनामको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्म मिति २०५३ भदौ ७ राखिएको छ । उनीहरू दुवैजनाको नागरिकता र राहदानीको नम्बर सँगै छ । उनीहरू दुवै विदेशी हुन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका कर्मचारीहरूले राजनीतिक संरक्षण र दावाको प्रभावमा परी दावासहित चार जना विदेशीलाई नागरिकता दिएर ठुलो अपराध गरेको खुलासा भएको हो । यसअघि आर्थिक प्रभावमा परी दावालगायत अन्य ३ सय ५० जनालाई नागरिकता बिक्री गरिएको खुलासा भएको थियो । त्यस्ता गलत कार्य हुँदै आएको देखिएपछि हाल जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता वितरणमा विशेष सतर्कता र कडाइ गर्न थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *