वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने

काठमाडौं । सुर्तीजन्य वस्तु अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी जस्ता वस्तु प्लाष्टिकमा प्याकिङ गर्न नपाउने गरी नयाँ नियमावली संशाेधनमार्फत ल्याएकाे हाे । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागू हुनेछ ।

त्यतिबेलासम्म यस्ता वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’

सरकारको नियमअनुसार अब आयातकर्ताले समेत नेपाल भित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन् । उनीहरुको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम ल्याइएको छ । अहिले खासगरी भारतबाट अन्धाधुन्ध यस्ता वस्तु नेपाल आयात भइरहेका छन् ।

आन्तरिक राजस्व विभागले तोकिएको अवधिभित्रै सो प्रावधान लागु गर्ने गरी तयारीमा जुट्न सुर्ती उत्पादकहरुलाई सचेत गराएको छ । जैविक रुपमा सडेर जाने सामग्रीमा मात्रै यस्ता वस्तु प्याकिङ गर्न र पैठारीमा समेत यही नियम लागु हुने भन्दै यसको आवश्यक तयारीमा जुट्न विभागले प्रतिष्ठानहरुलाई सचेत गराएको हो । १ वैशाख २०८१ देखि यो प्रावधान कार्यान्वयन नगरेमा कानुन अनुसार कारावाहीको चेतावनी सरकारले दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *