भन्सारबाट हुने अवैध गतिविधि रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यलयलको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यीनकरण हुने बताए ।

त्यससँगै त्यहाँ जडित प्रविधिलाई पनि समयअनुकूल स्तरोन्नती गर्नुपर्ने उनको भनाइ छ । प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने कुराहरुमा पनि अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने मन्त्री महतले बताए ।

उनले निरीक्षण पछिको छलफलमा आफूले सोही अनुसारको निर्देशन दिएको बताए । विमानस्थलमा प्रविधि अपडेट गर्नेदेखि जनशक्तिलाई दक्ष बनाउन सरकार संवेदनशील रहेको उनले बताए ।

‘तस्करीहरूले नयाँ-नयाँ प्रविधिहरूको प्रयोग गरिसरहेका छन् । हामीले हाम्रो प्रविधिलाई पनि त्यही अनुसारको अपग्रेड गर्नुपर्छ,’ उनले भने, ‘उहाँहरूलाई चाहिने जनशक्ति विकासदेखि प्रविधि अपग्रेड गर्ने कुरामा मन्त्रालयको पूर्ण सहयोग रहन्छ ।’

उनले भन्सारमा अस्वभाविक गतिविधि भइरहेका छन् भने ती कुराहरूलाई अनुसन्धानमा जोडिएका व्यक्तिहरूले निगरानीमा राख्ने र त्यसका आधारमा सूचना आदानप्रदान हुनुपर्ने उनले बताए ।

१०० किलो सुन प्रकरणमा पनि सूचनाको आदानप्रदान भएकाले समात्न सकिएको उनले बताए । ‘त्यो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिहरूको प्रविधि दुरूपयोग गर्ने प्रयास विफल हुन्छ,’ उनले भने ।

अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरुले समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

‘आउँदा दिनमा कुनै पनि छुट, कुनै पनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास उहाँहरुले गर्नुहुन्छ, भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

१०० किलो सुन प्रकरणमा अनुसन्धान जारी रहेको र अनुसन्धानपछि मात्रै कहाँ कमजोरी भयो भन्ने खुल्ने अर्थमन्त्री महतले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *