काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाणिज्य बैंकका सीइओहरुलाई ‘डिनर मिटिङ’को निम्तो दिएका छन् । बैंकको ऋण नतिर्ने अभियान र कर्मचारीहरुलाई कालोमोसो दल्ने जस्ता गतिविधीले आजित बैंक र बैंकका सिइओहरुलाई बोलाएर चिनजानसँगै छलफल गरी सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले गृहमन्त्री नारायणकाजी श्रेष्ले सबै वाणिज्य बैंकका सीइओहरुलाई निजी निवासमा डिनरका लागि निम्तो दिएका हुन् । श्रेष्ठले आज शुक्रबार साँझ ७ बजे निजी निवासमा सबै बैंकका सीइओहरुलाई रात्रिभोजमा निम्ता गरेको गृहमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा खराव कर्जाको मात्रा निकै बढेको छ । व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाइँले बैंकबाट लिएको ठूलो रकम नतिर्ने भन्दै अदालतको अन्तरिम आदेश लिएर बसेका छन् ।यस्ता गतिविधीले बैंकहरुमा चुनौति सृजना भएको छ । कतिपय बैंकहरुले सुरक्षा निकाय र सरकारसँग सहयोग माग समेत गरेका छन् । यीनै विषयवस्तुहरुमा आधारित भएर अनौपचारिक रुपमा जानकारी लिने र सरकार बैंकहरुलाई परिआउँदा साथमा छ है भनेर सकारात्मक उर्जा दिने हेतुले अनौपचारिक कार्यक्रम राखिएको श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।







