असारभित्रै कारोबार थाल्ने नयाँ ब्रोकरको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका ७ ब्रोकर कम्पनीले असारभित्रै कारोबार शुरू गर्ने तयारी गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ती कम्पनीको भौतिक पूर्वाधार निरीक्षण सकाएको छ ।

ती कम्पनी नेप्सेकै कारोबार प्रणालीमा जोडिने हुन् । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले आशयपत्र पाएका ७ ब्रोकर कम्पनीको भौतिक पूर्वाधार निरीक्षणको प्रतिवेदन सञ्चालक समितिबाट पारित हुन बाँकी रहेको जानकारी दिए । पराजुलीका अनुसार नयाँ कम्पनीहरू भौतिक पूर्वाधारमा योग्य हुन तिनले तयार गरेको प्रणालीलाई नेप्सेको कारोबार प्रणालीले सपोर्ट गर्नुपर्छ ।

बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ ब्रोकर कम्पनीले पनि नेप्सेकै प्रणालीमा जोडिन आवेदन दिएका छन् । सूचना अधिकारी पराजुलीले ती ११ कम्पनीले पेश गरेका कागजपत्र निरीक्षण भइरहेको जानकारी दिए । बोर्डले पहिलो चरणमा सीमित कार्य गर्ने ७ कम्पनीलाई जेठ ८ गते ब्रोकर लाइसेन्स दिएको थियो । ब्रोकर लाइसेन्स पाएकै हप्ता ती कम्पनी नेप्सेको सदस्यता लिन पुगेका थिए ।

आशयपत्र पाइसकेका र भौतिक पूर्वाधार तयार गरिसकेका कम्पनीले असार चौथो सातादेखि कारोबार शुरू गर्ने तयारी गरेका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले असार चौथो सातादेखि कारोबार शुरू गर्ने योजना सफल बनाउन नेप्सेले जतिसक्दो चाँडो निर्णय लिनुपर्नेमा जोड दिए । आफूहरु प्राविधिक रूपमा समेत तयार भएर बसेको उनको भनाइ छ ।

नेप्सेको सदस्य भएपछि राफसाफ सदस्यका लागि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) जानुपर्ने गिरी बताउँछन् । नेप्सेले चाँडो निर्णय गरे सीडीएससीको सदस्यता प्रक्रिया समयमै सम्पन्न हुने गिरीले बताए ।

गिरीका अनुसार ७ ब्रोकर कम्पनी असारको चौथो सातादेखि कारोबार शुरू गर्ने तयारीमा छन् । ती कम्पनी सन सेक्युरिटिज प्रालि, गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेड हुन् । दोस्रो चरणमा लाइसेन्स पाएका ११ ब्रोकर कम्पनीले सदस्यताका लागि पेश गरेको विवरण नेप्सेले निरीक्षण गरिरहेको छ । यी कम्पनीको विवरण निरीक्षणपछि नेप्सेले प्राविधिक तयारी पूरा गर्न निर्देशन दिँदै आशयपत्र प्रदान गर्छ ।
नेप्सेबाट हालसम्म आशयपत्र प्राप्त नगरेका ११ कम्पनीले असार मसान्तभित्रै कारोबार शुरू गर्न सम्भव छैन । ११ कम्पनीमा एउटा धितोपत्र व्यापारी (स्टक डिलर), एउटा पूर्ण कार्य गर्ने धितोपत्र दलाल र ९ सीमित कार्य गर्ने धितोपत्र दलाल छन् । अभियान दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *