काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता बाेलाएकाे छ ।
हिन्दी फिल्म आदिपुरुषकाे विषयलाई लिएर काठमाडाै महानगरका मेयर बालेन शाहले कुनै पनि भारतीय फिल्म चल्न नदिने भन्दै महानगर क्षेत्रमा रहेका हलहरुमा नगर प्रहरी पठाएका थिए। हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।
मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उनको आलोचना भइरहेको छ ।







