काठमाडौं । बहालवाला अर्थमन्त्री प्रकाशशरण महत यतिखेर विवादित बनेका छन् ।बजेट बनाउने अघिल्लो रात निकै संवेदनशील मानिने करकोे दर हेरफेर गर्ने गोप्य कोठामा गैरकानूनी रुपमा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई प्रवेश गराएको भन्दै मन्त्री महतको अहिले चर्को विरोध भैरहेको छ ।प्रतिपक्षी दलहरुले यसउपर छानबिन समिति गठन गर्न माग गरिरहका छन् । अर्थमन्त्री प्रकाशशरण महतले भने बजेट बनाउँदा आफुमाथि आरोप लगाइएको जस्तो कुनै चलखेल नभएको जिकिर गरिरहेका छन् ।तर उनी जती पानीमाथिको ओभानो बन्ने प्रयास गरेपनि पत्याइहाल्ने ठाउँ छैन ।
हुनपनि यसपटकको बजेटमा अर्थमन्त्री महतले उल्टो कर नीति लिए १०० किलोवाटभन्दा बढीको विद्युतीय गाडीमा कर घटाइदिए भने १०० किलोवाटभन्दा तलको विद्युतीय गाडीमा कर बढाइदिए ।त्यस्तै फलफूलजन्य बस्तु आयातमा भन्सारदर बढाइएको छ ।त्यस्तै भारत निर्यात गर्न पाएको सुविधाले पछिल्लो समय खाने तेल उद्योगको व्यवसाय राम्रो थियो ।दीर्घकालिन नभए पनि तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर यहाबाट तेल भारत निर्यात गर्ने गरिएकोे थियो । तर अर्थमन्त्रीले निर्यात व्यापार सुकाउने र भान्सा नै महंगो बनाउने गरेर तेलको कच्चा पदार्थमा लाग्ने भन्सार दरलाई १ प्रतिशतबाट १० प्रतिशत बनाइदिएका छन् ।यसले स्वदेशमा भएका खाने तेल उद्योग संकटमा पर्ने पक्का जस्तै भएको छ ।
त्यसो त अर्थमन्त्री महतलाई ‘भाउजु’अर्थात (पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा) को ‘एस म्यान’ का रूपमा व्याख्या गरिन्छ ।आरजु राणाकै आशिर्वादले मन्त्री महतलाई अर्थमन्त्रीको जिम्मेवारी प्राप्त भएको कतिपय राजनीतिज्ञहरुको भनाई छ ।यस हिसावले पनि महतमाथि आरजुको व्यापारिक इन्ट्रेस्ट पुरा गर्ने दबाब बढ्दा राजश्वका दर अस्वाभाविक रुपमा तलमाथि भएको ठानिएको छ ।
महतको विगतका विवादित कार्यकाल
पूर्व अर्थमन्त्री रामशरण महतका भाई समेत रहेका अर्थमन्त्री प्रकाशशरण महत यसअघि पटकपटक मन्त्री हुँदा पनि विवाद मुक्त रहेनन् ।ने.वि.संघको महामन्त्री हुँदै परराष्ट्र राज्यमन्त्री,उर्जामन्त्री सम्मको जिम्मेवारी सम्हालिसकेका महत मन्त्री हुँदा पटकपटक विवादमै आइरहे । २०६१ जेठमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयमा राज्यमन्त्री हुँदाको समयमा भुटानी शरणार्थी मामिलाको दुईपक्षीय वार्ता, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा निर्देशक नियुक्ति र कर्मचारी पोष्टिङमा पनि महत विवादमा परेका थिए। परराष्ट्र सचिव मधुरमण आचार्यसँग पनि त्यस समय उनको सम्बन्ध राम्रो भएन। २०६१ माघको राजनैतिक घटना पछि उनी पदमुक्त भए। त्यसपछि २०६६ सालमा बनेको माधवकुमार नेपाल नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारमा महत उर्जा मन्त्री भएका थिए । करिब एक बर्ष उर्जा मन्त्री रहेका समयमा पनि महत विभिन्न विवादमा परेका थिए। ऊर्जामन्त्री हुँदा सामान खरिदको विवादमात्रै नभएर मन्त्रालयका सचिवसँग हातपातमै उत्रिएको आरोपसमेत उनलाई लागेको थियो ।
ऊर्जामन्त्री हुँदा तत्कालीन सहसचिव अर्जुनकुमार कार्कीलाई माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नियुक्तिको विषयमा उनले कार्यकालभर विवाद गरेका थिए। कार्कीलाई पहिले आफैले जिम्मेवारी दिने निर्णय गरेर पत्रसमेत बनाउन लगाएका महत केही दिनमै एकाएक निर्णयबाट पछाडि फर्किएका थिए।तत्कालिन उर्जा सचिव कोइरालालाई महतले कार्यकक्षमै थुनेका थिए,दमकलको भर्याङ ल्याएर झ्यालबाट निकालिएको थियो ।अर्जुनकुमार कार्कीलाई दिइएको जिम्मेवारी पछि त्यसको केही समयमै ऊर्जासचिव शंकर कोइरालालाई दिइयो । तर कोइरालाले ऊर्जामन्त्रीकै पहिलेको निर्णयअनुसार अर्जुनकुमार कार्कीलाई तामाकोशी आयोजनामा नियुक्त गरेर पत्र थमाए । त्यसपछि ऊर्जामन्त्री रहेका महत र सचिव कोइरालबीच कार्यकक्षमै हात हालाहालको स्थिति बनेको थियो ।स्थिती यतिसम्म हुनपुग्यो कि हात हालाहालपछि पनि महतको रिस थामिएन बेलुकी पाँच बजे कार्यालय समय सकिइसकेको थियो महतले सचिव कोइरालालाई कार्यकक्षमै थुनिदिए र आफु निस्के ।सचिव कोइरालाले कांग्रेस नेता सुशील कोइरालालाई सिधै फोन लगाए । कोइरालाले पनि देउवाका गोजीका मान्छे प्रकाशरण महतलाई गाली गर्ने हिम्मत गरेनन न त ढोकामा लगाइएको ताल्चा फोड्ने हिम्मत नै गरे ।बरु उनले दमकलको भर्याङ पठाएर सचिव कोइरालालाई सिंहदरवारस्थित सचिवको कार्यकक्षको झ्यालबाट बाहिर निकाले ।
कर्मचारीसँगको खराब सम्बन्धले मात्र होइन उनी त्यसबेला ‘थर्मल प्लान्ट’ खरिद प्रक्रियामा पनि विवादमा परेका थिए। धान्नै नसक्ने थर्मल प्लान्ट ल्याएर विद्युत प्राधिकरण डुबाउने खेलमा लागेको भन्दै प्राधिकरणकै कर्मचारीले समेत महतको विरोध गरेका थिए।करोडौँ रूपैयाँ पर्ने थर्मल प्लान्ट ल्याउने विषयमा त्यसबेला ठूलो विवाद भएको थियो। मन्त्री महतले थर्मल प्लान्ट ल्याउने निर्णय गराउनका लागि तत्कालीन सचिव कोइरालालाई दबाब दिएका थिए। युरोपबाट डिजेल थर्मल प्लान्ट ल्याउने विषयमा लामो समय विवाद भएको थियो।
२०७३ मा पुष्पकमल दाहाल नेतृत्वको कांग्रेस माओवादी गठबन्धन सरकारको बेला पराराष्ट्रमन्त्री पनि भए महत । परराष्ट्र मन्त्री हुँदा पनि अनावश्यक वैदेशिक भ्रमण, राजदूत नियुक्तिका विवादित निर्णय र रुखो स्वभावका लागि मात्र उनी बढी चिनिए। स्पेनमा दूतावास स्थापना गर्ने, लस एन्जलसमा वाणिज्य दूतावास स्थापना गर्ने अध्ययन बिनाको भाषणले पनि उनी विवादमा तानिएका थिए।परराष्ट्रमन्त्री हुँदा पनि उनी पाँच पटकको दिल्ली यात्रा र राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका गएर लामो समय उतै बिताएर विवादमा नै परे । त्यस समय अमेरिकाबाटै युरोप जान लागेका उनी ‘धेरै नै विरोध भयो’ भन्दै आफैं नेपाल फर्किएका थिए।
अर्थमन्त्री मात्र होइनन् सचिव पनि आरजुकै ‘इन्ट्रेस्ट’का
हालै प्रस्तुत बजेट सार्वजनिक हुनभन्दा २५ दिनअघि सरकारले तत्कालिन अर्थसचिव तोयम रायालाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरेर हतारमा अर्थमन्त्रालयमा नयाँ अर्थसचिवका रुपमा अर्जुन पोखरेललाई तान्यो । कांग्रेस सभापति पत्नी आरजु देउवाकै चाहना र दबाबमा अर्थमन्त्री प्रकाशरण महतको प्रस्तावमा पोखरेललाई अर्थसचिव बनाइएको अर्थमन्त्रालयकै एक अधिकारीले बताए ।जबकि अघिल्ला सचिव तोयम रायालाई पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले नै अर्थ मन्त्रालयमा तानेको थियो। तर, ६ महिना पनि नपुग्दै बजेट बनाउने चटारोकै बीच उनलाई सरूवा गरियो र उनको ठाउँमा सचिव पोखरेललाई ल्याइयो ।
चालु आर्थिक वर्षको बजेट बनाउने क्रममा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बाहिरी व्यक्ती मन्त्रालय प्रवेश गराएर विवादित बनेका थिए । यस वर्ष त्यस्ता कुनै गतिविधी हुन नदिन चनाखो र सतर्क बनिरहेका अर्थका कर्मचारीहरु र अधिकारीहरु हतारमा नयाँ सचिव ल्याइँदा सशंकित बन्न पुगेका थिए । चालू आर्थिक वर्षको बजेटमा अनावश्यक व्यक्तिहरूको प्रवेशका कारण विवाद र राजश्व असुलीमा दबाब झेलेका अर्थका बजेट निर्माणमा खटिएका कर्मचारीहरु आगामी आर्थिक वर्षको बजेटमाथि पनि विभिन्न प्रश्नहरु तेर्सिन थालेपछि मन्त्रीका कारण मन्त्रालयले बारम्बार विवाद खेप्न परेकोमा हैरान छन् ।
त्यसो त अर्थसचिव पोखरेल २ वर्ष अघि मधेश प्रदेशमा मूख्यमन्त्री लालाबहादुर राउतका समयमा भएको साइकल खरिद काण्डका समयमा मूख्यमन्त्री कार्यालयका सचिवका रुपमा पनि कार्यरत थिए ।‘बेटी पढाऔं,बेटी बचाऔं’ अभियान अन्तर्गत साइकल खरिद योजनामा लाखौं भ्रष्टाचार भएको भन्दै उक्त प्रकरणको म्द्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको छ । मुद्दा अझै टुंगिएको छैन ।






