लक्ष्मी आयल स्टोर्सलाई दुई लाख जरिवाना

कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख जरिवाना गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रजिअ अनोजकुमार घिमिरेको नेतृत्वमा पुगेको अनुमगन टोलीले जरिवाना गरेको हो । उक्त आयल स्टोर्सका सञ्चालकले कृत्रिम अभाव सृजना गर्ने र मनलाग्दी मूल्य लिएर गैरकारनुनी तरिकाले पेट्रोलियम पदार्थ बिक्री गरेको ठहर गर्दै कानुनअनुसार जरिवाना गरिएको सहायक प्रजिअ अनोज घिमिरेले बताए ।

गैरकानुनी ढङ्गबाट बढी मूल्य लिएर बिक्री गरेपछि आफूलाई स्थानीयले उजुरी गरेको उनले बताए । उनले भने, “उक्त आयल स्टोर्सका बारेमा सूक्ष्म रुपले अनुगमन गर्दा सञ्चालकले गलत नै गरेको पुष्टि भएपछि हामीले जरिवाना गरेका हौँ । यो न्यूनतम जरिवाना गरिएको हो ।”

जिल्लामा सदरमुकाम मन्थलीमा रहेका तीनवटा पेट्रोल पम्पमा एक हप्तादेखि पेट्रोलियम पदार्थ नभएपछि आजै बिहानमात्र आएको सो पेट्रोल पम्पमा बढी मूल्य लिएर गैरकानुनी ढङ्गबाट बिक्री वितरण भएको पाइएको थियो ।

उता लक्ष्मी आयल स्टोर्सका प्रोप्राइटर केशव घिमिरेले आफूले मूल्यमा कुनै पनि तलमाथि नगरेको र सबैलाई आयल निगमले तोकेको एउटै मूल्यमा वितरण गर्ने गरेको दाबी गरेका छन् । दुई वर्षअगाडि पनि यो आयल स्टोर्स पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा कारबाहीमा परेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *