एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र यूएई भिड्ने भएका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेताका रुपमा फाइनल प्रवेश गरेको हो भने यूएई डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो ।

मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा यूएई २ रनले विजयी भयो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएपछि डीएलस मेथडबाट निर्णय लिइएको हो ।

उता, त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ४२ ओभर घटाइएको खेलमा नेपालले २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनः रोकियो ।

कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल मेथड प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल रद्द भयो । त्यसपछि नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।

अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *