नयाँ वर्ष २०८० सुरु भएयता आज (बुधबार) सेयर बजार उकालो लागेको छ । बुधबार सेयर बजार दोहोरो अंकले बढेको हो ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा बन्द भएको छ । यस्तै ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८५ अंकले बढेर ३६५.९० बिन्दुमा पुगेको छ ।
२७३ कम्पनीको २३ हजार ५०३ वटा कारोबारमा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यस दिन २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच भएको छ ।
आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । आज १८७ कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।
८ करोड ८३ लाख रुपैयाँसहित कारोबार रकममा स्वावलम्बन लघुवित्तको संस्थापक सेयर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र एनआइसी एसिया बैंक परेका छन् ।
बजारमा सुधार देखिएतापनि आज आदर्श लघुवित्तको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, गरिमा डिभेन्चर, सनराइज म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।







