मुद्रा सटहीका लागि राष्ट्र बैंक र विकास कोषबीच सम्झौता

लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।  कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैङ्क सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सङ्कलित विभिन्न २० वटा देशका विदेशी मुद्रामात्र सटही गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्र बैंकको परिवत्र्यसूचीमा नपरेका देशका मुद्रा सटहीका लागि एजेन्सी बैंक सिआइएमबी बैंक सिङ्गापुर पठाउनेगरी दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्रासूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन ।

दुवै पक्षवीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखि सटही नभएका दानवापतको मुद्रा सटही प्रक्रियामा गएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको दान वापतको रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्रासूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफुहरुको पटक पटकको प्रयासपछि सटही हुने अवस्था आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

भट्टराईले १ सय १ देशबाट आएका विदेशी पर्यटकले मायादेवी मन्दिरमा दान वापत आफ्नो देशको मुद्रा चढाएको र त्यसमध्ये राष्ट्र बैंकको परिवत्र्यसूचीमा नभएका २० वटा देशको मुद्रा सटही गर्नेगरी सम्झौता हुनु ठूलो उपलब्धी भएको बताए ।

पहिलो चरणमा एक हप्ताभित्र श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेशिया, ओमन, रुसलगायतका २० देशका करिव ७४ लाख नेपाली रुपियाँ सटही हुने कोषले जनाएको छ । परिवत्र्य विदेशी मुद्रासूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या देखिएको र अब सटहीका लागि औपचारिक रुपमा सम्झौता भएर प्रक्रिया अघि बढाइएको राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताए ।

अमेरिकी डलरमा सटही प्रदान गर्ने भए तापनि अमेरिकी डलर बराबरको नेपाली रुपियाँ कोषलाई भुक्तानी गरिने सम्झौतामा भनिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *