बिमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न अनुरोध

वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन कोही पनि बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुरोध गरेको छ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने रकम पछिल्लो समय बिचौलियाहरू ठगी गर्ने गरेको भन्दै मन्त्रालयले बोर्ड र बिमामार्फत पाउने रकम लिन कसैको पनि भर र दबाबमा नपर्न अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिचौलियाहरूले अनावश्यक हस्तक्षेप गर्दा पाउनु पर्ने पूरा रकम परिवारका सदस्यले नपाएको गुनासो बढेको र यदि कोही कसैले त्यस्तो प्रलोभनमा पारेर ठगी गरेमा मन्त्रालयमा सिधै जानकारी गराउन मन्त्रालयका सचिव एक नारायण अर्यालले आग्रह गरेका छन।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीकै सिलसिलामा श्रम स्वीकृतिको अवधि सकिएको एक वर्ष भित्र कोही कसैको ज्यान गएमा वैदेशिक रोजगार बोर्डले सात लाख रुपैयाँ र म्यादी जीवन बिमाबाट १४ लाख रुपैयाँ आर्थिक सहायता पाइन्छ ।

यस्तो रकम नजिकको हकवाला अर्थात् मृतक श्रमिकको श्रीमान्, श्रीमती वा नजिक एकाघरको नाताको खातामा पठाइने व्यवस्था छ । यस्तो आर्थिक सहायताका लागि आफ्नो पालिकाको सिफारिसमा पालिकाबाटै बोर्ड निवेदन पठाउन मिल्छ । त्यसका लागि कोही कसैको भर पर्न पर्दैन ।

साथै श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षपछि कोही श्रमिकको रोजगारीको सिलसिलामा ज्यान गएमा बोर्डले मृतक परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउँछ । यो आर्थिक सहायता लिन कोही सकैलाई भनसुन गर्न पर्दैन ।

विदेशबाट शवसँग आएका कागजातसहित मृत्यु दर्ताको प्रमाणपत्र, पालिकाको सिफारिस लगायतका कागजात आवश्यक पर्छ । यो कागज आफ्नो पालिकाबाट सहजै बनाउन सकिन्छ । तर पनि केही बिचौलियाहरूले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेकोजस्तो गरेर पनि रकम ठगी गर्ने प्रवृत्ति बढ्दो छ ।

यस्तो समस्या आफैँलाई परेमा वा नजिकका आफन्तले भोग्न परेमा १६६००१५०००५११४१ नम्बरमा फोन गर्न सकिन्छ भने विदेशबाट अथवा शःशुल्क ९७७१५९७०००८ नम्बरमा वा भाइवर र इमोमा कल तथा म्यासेज ९८०१८०००१३, ९८५११८०९५९ नम्बरमा गर्न सकिन्छ ।

कोही सबैले यस्तो कार्य गरेमा वा संलग्न भएमा कडा कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *