खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री

अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गरेका छन् ।

यही चैत १७ मा अर्थमन्त्रीको सपथ लिएसँगै उनी अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकका गभर्नरदेखि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, सुझाव सङ्कलन तथा अन्तरक्रियामा व्यस्त रहेका छन् । एक सातामा देखिएको उनको सक्रियता र अभिव्यक्तिले अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित भएको सरोकारवालाले टिप्पणी गरेका छन् ।

“अर्थतन्त्रमा देखिएका समस्या पहिचान भइसकेका छन्”, अर्थमन्त्री डा महतले भने, “ती समस्या समाधानका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बाटोमा अग्रसर छौँ ।” अर्थतन्त्रलाई लयमा ल्याउने गरी आफूले काम गर्ने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ ।

निजी क्षेत्रले पनि अर्थतन्त्र बुझेको विज्ञ अर्थमन्त्री अर्थमन्त्रालयको नेतृत्वमा आउँदा आफूहरुले उठाएका माग सम्बोधन हुनेमा विश्वास व्यक्त गरेको छ । अर्थमन्त्री भएलगत्तै गभर्नर, नेपाल उद्योग वाणिज्य महासङ्घ, सेयर लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स एशोसिएसन, राजस्व चुहावट नियन्त्रण समितिलगायत सङ्घसंस्था एवं सरोकारवालासँग परामर्श गरिसकेका छन् । साथै विदेशी दातृ निकाय र विकास साझेदारसँग पनि मुलुकको अर्थतन्त्रको सुधारलगायतका विषयमा महत्वपूर्ण छलफल गरेका छन् ।

उनले आम चासो र मागबमोजिम अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रीले सरोकारवाला निकायसँग निरन्तर छलफल गरेका छन् । उनको सक्रियताबाट अर्थतन्त्र सुधारका लागि ठोस पहल हुनेमा निजी क्षेत्रमा आशा पलाएको छ ।

यसअघि गत पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले अर्थतन्त्रको सुधार, सुशासन र समृद्धिलाई विशेष प्राथमिकतामा राखेको थियो ।

अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि रणनीतिक छलफल सुरु गरेका अर्थमन्त्रीले क्रमशः सरकारप्रति विश्वास जगाउने र अर्थतन्त्र सुधारका लागि प्रयत्न गर्ने प्रयास थालेको बताएका छन् । बाह्य र आन्तरिक वातावरण पनि अर्थतन्त्र ह्रासोन्मुख देखिएकाले सुधारका लागि विश्वास दिलाउनु नै पहिलो महत्वपूर्ण काम भएको सरोकारवालाको भनाइ छ । सरकारले क्रमशः विश्वासको वातावरण बनाउँदै लगेको छ । अर्थमन्त्री डा महतले सङ्कटको घडीमा पुगेको देखिएको मुलुकको अर्थतन्त्रलाई उकास्न सरकारका सबै प्रयत्न केन्द्रित हुने धारणा पद बहालीका क्रममा पनि राखेका थिए।

खासगरी ब्याजदर वृद्धि, तरलता अभावजस्ता मुख्य समस्याले निजी क्षेत्रमा चिन्ता छाएको छ । अर्थमन्त्री डा महतले निजी क्षेत्रको मागबमोजिम ब्याजदर घटाउन तथा तरलता वृद्धिका लागि केन्द्रीय बैंकका अधिकारीसँग पनि छलफल गरेका छन्। गभर्नरसँगको छलफलमा नागरिकलाई राहत दिने गरी व्याजदर, पुँजीबजार, घरजग्गा कारोबार, लघुवित्त संस्था, सहकारीमा देखिएका समस्या समाधानका लागि तत्काल कदम चाल्न उनले आग्रह गरे ।

वित्त नीति र मौद्रिक नीतिमा तालमेल नहुँदासम्म अर्थतन्त्रले गति लिन सक्दैन । अर्थतन्त्रको समग्र परिदृश्य र बजारको विश्वास बढाउने काम शेयर बजारले पनि गर्ने भएकाले मुलुकका अर्थ प्रशासन ठोस कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ । सरकारले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका अधिकारीसँग पनि बजार विस्तार तथा शेयर बजारको सुधारका लागि सकारात्मक पहल थालेको छ । त्यसको परिणाम केही दिनमा देख्ने अपेक्षा गर्न सकिन्छ ।

अर्थमन्त्रीका रुपमा डा महतको पहिलो दायित्व राजस्व सङ्कलनमा वृद्धि गर्नुपर्नेमा छ । वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप रोक्नका लागि सरकारले केही वस्तुको आयातमा गरिएको कडाइका कारण राजस्व सङ्कलन प्रभावित हुन पुग्यो । वस्तु आयातमा कडाइ गरिए पनि अवैध आयात नरोकिँदा बजारमा अभाव भने देखिएन । बरु भन्सार प्रशासनले प्रभावकारीरुपमा अनुगमन तथा नियन्त्रण गर्न नसक्दा अवैध कारोबार मौलाउने मौका भने पाइरह्यो । त्यसको नियन्त्रणका लागि केही दिनअघि मात्रै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा अर्थमन्त्रालयले सम्बद्ध निकायका अधिकारी सम्मिलित छलफल गरिसकेको छ । भन्सार राजस्व चुहावटमा शून्य सहनशीलताको नीति अख्तियार गरिएको छ ।

अर्थसचिव तोयम रायका अनुसार राजस्व सङ्कलनमा क्रमशः वृद्धि हुँदै पनि गएको छ । उद्योग व्यवसायमा गिरावट आउँदा कर्जा तिर्नसक्ने अवस्थामा सङ्कुचन देखिएको छ । यस्तो अवस्थामा वित्तीय संस्थाप्रति विश्वास बढाउनु जरुरी छ । पुँजीगत खर्च बढाउनैपर्ने दबाव पनि छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार मात्रै राष्ट्रिय समस्या समाधान समितिको बैठकमा पुँजीगत खर्च बढाउन सबै उपायको अवलम्बन गर्न सबै मन्त्रालय, विभागलाई निर्देशन दिएका छन् ।

यस सन्दर्भमा अर्थमन्त्री डा महतले ब्याजदर घटाउने, अन्तर्राष्ट्रिय दातृ निकायलाई विश्वासमा लिन प्रयत्न गर्नुपर्नेछ । बढ्दो मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्दै क्रमशः घटाउने, आर्थिक वृद्धि गर्नेलगायतका महत्वपूर्ण कार्य पनि उनको नेतृत्वमा तत्कालै सम्पादन गर्नुपर्ने अवस्था छ ।

गत वर्ष यतिबेला नेपाल श्रीलङ्का बन्ने त होइन भन्ने चर्चा चलेको थियो । गत वर्षदेखि नै सुरु भएको रुस युक्रेन युद्धका कारण विश्व बजारमा देखिएको आर्थिक असहजताको असर यहाँसम्मै आइपुग्ने को कि भन्ने त्रास पनि अझै सकिएको छैन । यस्तो त्रासको अवस्थामा नेपालजस्तो तेस्रो मुलुकको अर्थतन्त्र जोखिममा पर्नु पनि स्वाभाविकै हो । यो त्रासबाट मुक्त गरी आर्थिक विकासका लागि नेपाली नागरिकमा आशा जगाउनु अर्थमन्त्री डा महतको पहिलो चुनौती हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *