नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) ११ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।
गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवश्यक पैरबी गर्ने संकल्प प्रस्ताव समेत पारित गरेको छ । सीईओहरुले एकीकृत स्वनियमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढीकरणको लागि स्तरीकरण कार्यक्रममा आवद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तिहरुको प्रस्तुतीकरण उक्त गोष्ठीमा देशभरका करिब ४ सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिइओ)हरुको उपस्थिति रहेको थियो । गोष्ठीमा सहभागी सिइओहरुले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताव पारित गरेको छ ।







