वाणिज्य बैंकहरुले कर्जाको ब्याजदरमा १ प्रतिशत प्रिमियम घटाएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको आजको बैठकले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेका हुन् ।
गत पुसमा बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत पुगेको छ । त्यसमा ६ प्रतिशतसम्म थपेर बैंकहरुले कर्जा प्रवाह गर्दै आएका थिए ।
बैठकले साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने निर्णय गरेको छ । चैत १ गतेदेखि लागू हुने गरी बचतको ब्याजदर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेको हो । हाल ६.४२ देखि ८.४२ प्रतिशतसम्म रहेको थियो ।
बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ । जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्छ । मुद्दति निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने अध्यक्ष सुनिल केसीले जानकारी दिए ।
कुनै बैंकको आधारदर १० प्रतिशत छ भने अब ऋणको ब्याजदर १५ प्रतिशतभन्दा माथि गर्न पाइने छैन ।
यसअघि सिटिजन्स बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले २ प्रतिशतसम्म प्रिमियम घटाएका थिए । उनीहरुले अधिकतम ४ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरिसकेका छन् ।






