मोदी ईनर्जी लिमिटेडले आज (फागुन २५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले २९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्लाका बासिन्दाको लागि बिक्री गर्न लागेको हो । जसअन्तर्गत साविकक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुहरुले आईपीओमा आवेदन दिन सक्नेछन्।
यसका साथै सर्वसाधारणमा निष्काशन हुने सेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने सेयरको ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ९ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।






