नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश गरेको छ। बैंकको वार्षिकोत्सवका अवसरमा अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताएका छन्। स्थापनाको ३७ वर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको समेत अध्यक्ष पाँडेले बताए।

मर्जरपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान हुनुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरूलाई समेत मर्जरका लागि प्रेरित गरेको अध्यक्ष पाँडेले बताए। गत पुसमा नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताए।
संस्थापकहरुको सोच र भिजनका कारण देशकै विश्वासिलो र अग्रणी बैंकको रुपमा स्थापित भएकोमा गर्व लागेको बताउँदै उनले ग्राहकको चाहना अनुसार आगामी दिनमा थप नवीनतम सेवा प्रवाह गरिने बताए।

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकहरूलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ । यो सुविधाले राष्ट्र बैंकले डिजिटल प्रविधिको उपयोगमा प्रवर्द्धन गर्ने नीतिलाई प्रोत्साहन गर्ने सिइओ पाण्डेको विश्वास छ।

यसैबीच, ३७औं वार्षिकोत्सवका दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ। रक्तदानमा बैंकका कर्मचारीहरूको सहभागिता थियो। यसैगरी, वार्षिकोत्सवका अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित एक बाल पुस्तक पनि सार्वजनिक गरिएको छ।

बैंकले २९६ शाखा, २७९ एटिएम, ५० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउण्टर र १०९ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *