निरा छन्त्यालको शोकमा आज देशभरका दोहोरी साँझ बन्द

पोखरामा आइतवार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकी २२ वर्षीया लोकगायिका निरा छन्त्यालको मृत्युको शोकमा आज देशभरका दोहोरी साँझ बन्द हुने भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा सोमबार देशभर शोक मनाउने निर्णय गर्दै दोहोरी साँझ बन्द गर्ने जनाएको हो ।

प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको प्रतिष्ठानको आइतबार आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।

गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्‍तिमा उल्लेख गरिएको छ ।

‘नेपाली लोकदोहोरी गायनको क्षेत्रमा प्रस्तुतिको हिसाबले अब्बल, मिलनसार, स्टेज कार्यक्रमहरूमा सुन्दर प्रस्तुति दिएर सबैको मन जित्न सफल गायिका छन्त्यालको निधनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको छ’ विज्ञप्‍तिमा भनिएको छ ।

बागलुङ घर भएकी गायिका छन्त्याल एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन काठमाडौंदेखि पोखरा उडेकी थिइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *