यती र तारा एयरलाइन्सका संचालक, व्यवस्थापक कर्मचारी र पाईलट समेत एउटै रहेको पाईएको छ । बिबिध कारण यतिको एयरलाइन्सको जहाज धेरै दुर्घटना हुन थालेपछि यात्रुको बिश्वास गुम्यो । त्यस पछि संचालकले यात्रु झुक्याउने नयाँ रणनीति अपनाएर तारा एयरलाइन्सको नाममा अर्को हवाइसेवा संचालनमा ल्याए । जसको एउटा उदेश्य यात्रु अर्को जहाजमा नजाउन भन्ने थियो ।
नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखरास्थित सेती नेदी खोँचमा अर्को हवाई दुर्घटना भयो । योसँगै नेपाली आकाशमा भएका हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । दुःखद् दुर्घटनाको संख्या थपिने क्रममा यती एयर्लाइन्सको ९ एन एएनसी एटीआर ७२ ५०० विमानमा सवार ७२ (चालक दलका ४ सदस्यसहित) जनाले ज्यान गुमाए । यात्रु जानै जानेगरी यतिको विमान दुर्घटना भएको घटना पहिलो भने होइन ।
अहिलेसम्म (आइतबार भएकाे दुर्घटनासहित) ‘यती’ नामबाट संचालित विमान ७ पटक दुर्घटना परेको छ । जसमा ४ पटक भएको दुर्घटनामा १०३ जनाको ज्यान गएकाे छ । अन्य तीन दुर्घटनामा यात्रु घाइते भएका छन् । सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुर्घटना भएको थियो । उक्त दुर्घटना यतीले तीन जनाको ज्यान लिएको थियो । त्यसको दुई वर्षपछि सन् २००६ मा यतीकै विमान जुम्लामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो । यसैगरी सन् २००६ मै यती एयरलाइसकै विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भयो । यो दुर्घटनामा १९ ले ज्यान गुमाएका थिए । बढी दुर्घटना भई रेकर्ड बनाउनेमा नेपालको पूरानो इतिहास बोकेको नेपाल एयर्लाइन्सपछि यती एयर्लाइन्स दोस्रोमा देखिन्छ ।
धेरै दुर्घटनामा पर्ने सूचीमा यती यसकारण पनि आउँछ कि, तारा एयर दुर्घटनाको संख्या पनि यसैमा जोड्नुपर्ने हुन्छ । यो कुरा धेरैलाई थाहा नहुन सक्छ– यती र ताराले आमयात्रुलाई झुक्याइरहेका छन् । यती धेरै दुर्घटना हुने सूची परेको भनेर तपाईँले तारा एयरको टिकट काट्नुभयो पनि तपाईँको यात्रा यतीसितै हुनेछ । आइतबार दुर्घटनामा परेककै क्वालिटीका विमान ९एन एएनसी एटीआर ७२ ५०० (१५ वर्ष आयु तोकिएको तर १६ वर्षसम्म उडाइँदै आइएको) जस्तै विमान यात्रा गुर्नपर्ने हुन्छ, किन भने बाहिरबाट हेर्दा यती र तारा एयर फरक कम्पनी जस्तो देखाइए पनि लगानीकर्ता, संचालक, पाइलट तथा अन्य कर्मचारी उनी नै हुन् ।
त्यसो त तारा एयरको दुर्घटना इतिहास पनि उस्तै दर्दानक देखिन्छ । दुई पटक मात्र दुर्घटनामा परेको ताराले ४४ जनाकाे ज्यान लिएको छ । सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भयो । उक्त दुर्घटना २२ जनाको मृत्यु भएको थियो । यसैगरी सन् २०२२ मा मुस्ताङको थासाङ गाउँपालिका–२ मा तारा एयरकै जहाज दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाए । यात्रुको ज्यानै लिनेगरी तीन पटक यतीको विमान दुर्घटना हुँदा १०३ जनाले ज्यान गुमाए भने दुई पटक दुर्घटनामा परेको तारा एयरमा यात्र गर्ने ४४ जनाले ज्यान गुमाउनु परेकाे छ ।
यी हुन् ‘यती र तारा’ टिम
यती एयसर्लाइन्समा मात्र नाम उल्लेख गरिएको तर तारा एयरको पनि कार्यकारी अध्यक्ष हुन् ल्हाक्पा सोनाम शेर्पा । प्रबन्ध निर्देशकका रुपमा चन्दा शेर्पा छिन् भने यती र ताराका उप प्रबन्ध निर्देशक नोर्बु छिरिङ शेर्पा हुन् ।
सृजना श्रेष्ठ कार्यकारी निर्देशक र क्याप्टेन कोशबहादुर थापा उपप्रबन्ध निर्देशक छन् । संचालकमा अनोज रिमाल प्रमुख कार्यकारी अधिकृत, उद्धवप्रसाद सुवेदी वरिष्ठ निर्देशक हुन् उनी इन्जिनियरिङ् हेर्छन् । यसैगरी सरल एसजेबी राणा वरिष्ठ निर्देशक नै हुन् भने उनले ग्राउन्ड ह्यान्डलिंग पनि गर्छन् ।
यस्तै, नवीन भण्डारी वित्त निर्देशक, खेमराज पौडेल कर्पोरेट निर्देशक, पारस पौडेल सीएएमओ प्रमुख छन् । क्याप्टेन प्रमोदराज पौडेल अपरेशन निर्देशक, क्याप्टेन रवि कंसाकार सुरक्षा निर्देशक, सुदर्शन बर्तौला सुरक्षा अधिकरी एवं प्रवक्ता हुन् ।
यसैगरी युवराजकुमार विष्ट व्यापार अधिकृत, सुवास बोहरा मानव संसाधन र प्रशासन वरिष्ठ प्रबन्धक, राजाराम तण्डुकर क्यूए प्रमुख, क्याप्टेन रामोदकुमार श्रेष्ठ तालिम निर्देशक (सञ्चालन), दिपेन्द्र विक्रम शाही राजस्व व्यवस्थापनका वरिष्ठ प्रबन्धक र प्रविना के.सी. ग्राहक सेवाका वरिष्ठ प्रबन्धक छिन् । यही टिमले देखावटी रुपमा फरक कम्पनी भनिने तारा एयर पनि सञ्चालन गर्दै आएको छ ।
के भन्छन् कम्पनीका अधिकारी ?
यती र तारा एयर्लाइन्स कम्पनी एकै हुन् भन्ने कुरा घुमौरो पारामा स्वयं कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले स्वीरे । उनले अनलाइनपासँगको सुरुवाती कुराकानीमा कम्पनी फरक–फरक नै हो भन्ने दाबी गरेपनि अन्तिममा उनले लगानीकर्ता एउटै रहेको खुलाए । एउटै टिमले दुईवटा कम्पनी चलाउँदा सञ्चालन, व्यवस्थापन र प्राविधिकीय रुपमा कमजोरी हुन पुगी दुर्घटनाको जोखिम बढ्नसक्ने प्रश्न गर्दा प्रवक्ता बर्तौलाले कम्पनीको बचाउ गर्दै अन्य सम्पूर्ण टिम बेग्लाबेग्लै भएको दाबी गरे ।
‘लगानीकर्ता चाहिँ एउटै हो । तर अन्य सम्पूर्ण टिम आ–आफ्नै छन्’, उनले भने, ‘इन्जिनियर, पायलटसहित सम्पूर्ण टिम दुवै कम्पनीको आ–आफ्नै छन् ।’ उनले अन्तिममा तारा एयरको स्टाफ कम रहेको स्वीकारे भने त्यसमा यतीकै टिमले सहजीकरण गर्ने गरेको खुलाए ।
नेपालमा अहिलेसम्म भएका १०४ वटा हवाई दुर्घटनामा ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् । व्यवस्थापकीय तथा प्राविधिकीय त्रुटिका कारण धेसैजसो दुर्घना भएको विगतका तथ्यांकले देखाउँछ । आइतबार पोखरामा दुर्घटनामा परेको यतीको विमानमा प्राविधिक त्रुटि भएका हुनसक्ने आंकलन गरिएको छ । १५ वर्ष आयु तोकिएको उक्त विमान १६ वर्षयता उडाइँदै आइएको थियो । बाहिरबाट हेर्दा रांगरोगनले आकर्षक देखिएको उक्त विमान यती एयर्लाइन्सले ‘फोर्थह्याण्ड’का रुपमा किनेको थियो ।







