६ महिनामा गोलभेँडा बिक्रीबाट तीन करोड आम्दानी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी गरेका छन्।

कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ।

उनीहरूले विगत छ महिनामा रु तीन करोडभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ। अहिले दैनिकरूपमा मकवानपुरगढीमा उत्पादन भएको गोलभेँडा हेटौँडालगायतका अन्य बजारमा ढुवानी भई बिक्री वितरण भइरहको छ।

गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले सो गाउँपालिकामा १०० जना किसानले एक सय हेक्टर जमिनमा गोलभेँडा खेती गरी उक्त आम्दानी लिएको जानकारी दिए।

गाउँपालिकाले तरकारी खेतीका लागि अनुदानसमेत सञ्चालन गरेको बताइएको छ।

उनले कृषि उत्पादनबाट किसानलाई आत्मनिर्भर बनाउन टनेल कृषि कार्यक्रमसमेत सञ्चालन गरेको बताए।

अव्यवस्थित चुरे तथा पहाडी विशेषता बोकेको गाउँपालिकामा भौगौलिक बनावटका आधारमा कृषि कार्यक्रम सञ्चालन गरिरहेको कृषि अधिकृत चौधरीले बताए।

गाउँपालिकामा ४५० हेक्टर क्षेत्रफलमा हुने तरकारी खेतीबाट वार्षिक ६ हजार पाँच सय मेट्रिक टन विभिन्न किसिमका तरकारी उत्पादन हुने गरेको बताइएको छ।

मकवानपुरगढी(१ मा २० किसानले २७, वडा नं २ मा २० किसानले एक हजार नौ सय वर्गमिटर क्षेत्रफलमा एक सय १९, वडा नं ३ मा १७ किसानले ६०, वडा नं ४ मा २३ किसानले ३५, वडा नं ५ मा २८ किसानले ३१ टनेल निर्माण गरी खेती गरिरहेको कृषि शाखाको तथ्याङ्कमा उल्लेख छ।

यस्तै वडा नं ६ मा २१ किसानले एक सय पाँच, वडा नं ७ मा ६६ किसानले एक सय र वडा नं ८ मा ८२ किसानले गरी जम्मा ३५३ वटा टनेल निर्माण गरी गोलभेँडाको तरकारी खेती गरिरहको बताइएको छ।

किसानले अहिले दैनिक रु तीनदेखि पाँच लाखसम्मको गोलभेँडा बिक्रीका लागि हेटौँडा बजारलगायतको अन्य बजारमा समेत बिक्रीका लागि पठाउने गरेको उनले बताए ।

गाउँपालिकाले टनेल निर्माणका लागि किसानलाई निःशुल्क प्लाष्टिक, तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ। तरकारी खेतीका लागि यस वर्ष पनि रु पाँच लाख छुट्याएको सो कार्यालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *