एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१६ ले गरीब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान शुरू गरेको छ ।

स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताए ।

वडामा पहिलो चरणमा १०० विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमवारबाट शुरू भएको वडाध्यक्ष मल्लले जानकारी दिए । वडा कार्यालयले निःशुल्क १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिने भएको हो ।

स्वास्थ्य बीमा कार्डबाट बिमितले तोकिएको स्वास्थ्य संस्थाबाट उपचारसँगै १ हजार १०० प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताए ।

स्वास्थ्य बीमाबाट बिरामीले समयसमयमा सम्पूर्ण शरीरको परीक्षण गर्न सक्ने बीमा सहजकर्ता नारायणीदेवी पौडेलले बताइन् । सरकारले तोकेका स्वास्थ्य संस्थाबाट बीमाको लाभ लिन सकिने पौडेलको भनाइ छ । वडाले चालू आर्थिक वर्ष २०७९र८० मा स्थानीयको स्वास्थ्य बीमाका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष मल्लले बताए ।

आगामी दिनमा वडाका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने योजना रहेको वडाध्यक्ष मल्ल बताउँछन् । वडामा रहेका सम्पूर्ण घरपरिवारलाई आगामी ५ वर्षभित्र बीमा कार्यक्रममा जोडेर निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको प्रत्याभूत गराउन पहल गर्ने मल्लले बताए ।

वडाको विकासका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच नभएसम्म वडावासीको जीवनस्तरको सूचकांकमाथि उठाउन नसकिने मल्लको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *