श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र दक्षिण कोरियाबाट नेपालतर्फ भइरहेको हुन्डी कारोबारलाई निरुत्साहित गर्न कार्यदल गठन गरेको छ। पछिल्लो समय इजरायल र कोरियाबाट ठूलो मात्रामा रकम हुन्डीमार्फत आउन थालेपछि नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयलाई सहजीकरण गर्न कार्यदल गठन गरिएको हो।
इजरायलमा कार्यरत नेपाली श्रमिकले हुन्डीमार्फत पैसा पठाउन थालेपछि त्यहाँस्थित नेपाली दूतावासले चासो व्यक्त गर्दै हुन्डीमार्फत नेपाल पैसा नपठाउन अनुरोध गरेको छ । इजरायलबाट बढ्दै गएको हुन्डी कारोबारका सम्बन्धमा कारोबार दैनिकले माग गरेको सूचनामा इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले हुन्डी इजरायलबाट मात्रै नभएर संसारभरबाट नेपालमा पैसा पठाउने माध्यम बनिरहेको जनाएको छ। दूतावासले हुन्डी कारोबार बढ्दै गइरहनु थप दुःखको कुरा रहेको जनाएको छ।
गैरकानुनी ढंगबाट एक ठाउँबाट अर्को ठाउँमा वा एक देशवाट अर्को देशमा अनाधिकृत प्रक्रियाद्धारा रकम पठाउने माध्यमलाई हुण्डी भनिन्छ । यसमा मोबाइल नम्बर, नोट नम्बर, कुनै निश्चित कोडलाई आधार मानेर रकमको रकमान्तर गर्ने गरिन्छ । यो रकमान्तरको काम गराएबापत हुण्डीको काम गराउने ब्यक्तिले केही कमिशन लिने गर्दछ । उदाहरणको लागि, कुनै मान्छे वा ब्यापारीले नेपालको कुनै ठाउँ विदेशको कुनै ठाउँबाट रकम पठाउनुपर्यो भने सो ब्यक्तिले नेपालमा रहेको हुण्डीको काम गराउने ब्यक्तिनिर गएर पैसा बुझाएर एउटा गोप्य कोड प्राप्त गर्ने गर्दछ ।
त्यो रकम पठाउने ब्यक्तिले सो कोड रकम पाउने ब्यापारीलाई जानकारी गराईदिने गर्दछ । हुण्डी ब्यापारीले सो कोडको अधारमा त्यो रकम पाउने ब्यक्तिलाई पहिचान गरी रकमको भुक्तानी गर्ने गर्दछ । यो बीचमा दुवै हुण्डीको कारोबार गर्ने ब्यापारीहरु बीच सो कोडको गोप्य रुपमा आदानप्रदान भइसकेको हुन्छ ।
पछिल्लो समय प्रतिष्ठित मनि ट्रान्सफरहरुले आफ्ना एजेन्टहरुलाई भित्रि रुपमा हुण्डी कारोबारमा संलग्न गराउने गरेका छन् ।






