अर्घाखाँची सिमेन्टले सोमबारदेखि सिमेन्ट भारत निर्यात गर्न थालेको छ । रुपन्देहीमा रहेको यो उद्योगले बेलहिया नाका हुँदै भारतको आनन्दनगर र नौतनवामा रहेको शुभांशु एसोसिएट डिलरलाई एक सय टन (एक हजार चार सय बोरा) पीपीसी सिमेन्ट पठाएको सो उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।
अर्घाखाँचीका उत्पादन ओपीसी र पीपीसी सिमेन्टले भारतीय गुणस्तर चिह्न पाइसकेका छन् । यो उद्योगले असोज पहिलो साता आईएसआई मार्क पाएको हो ।
उद्योगका सञ्चालक पशुपति मुरारकाले सिमेन्ट निर्यात हुँदा खुसी लागेको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा टेवा विश्वास व्यक्त गरे ।
अर्घाखाँची सिमेन्ट उद्योगको दैनिक दुई हजार दुई सय टन उत्पादन क्षमता छ । यसले क्लिङ्करसमेत उत्पादन गर्दै आएको छ ।
सरकारले ५० करोड रुपैयाँभन्दा बढीको उत्पादन निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । यसले आफ्ना उत्पादन निर्यात गर्न प्रोत्साहन भएको छ । यसअघि तानसेन सिमेन्ट र श्री स्टिल्स्ले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेका थिए ।






