‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो। दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गर्ने भएका हुन्। पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रवर्द्धन गर्नेछ।

यो वर्षको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ भदौ ३१ गते नाफिज वार्षिकोत्सवको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ। पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ।

दुई संस्थाले भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्नेतर्फ प्रयासरत रहने पनि बताएका छन्। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिन बैंक तथा वित्तीय संस्थामात्र नभएर समस्त अर्थतन्त्रको हितमा काम गर्न स्थापना भएको जानकारी दिए ।

उनले सिबिफिन नाफिज बैंकिङ पत्रकारिता पुरस्कारको घोषणासँगै आर्थिक पत्रकारलाई आर्थिक घटनाक्रम तथा विषयवस्तुलाई सबल, निष्पक्ष, खोजमूलक, प्रभावकारी तथा तार्किक निचोड दिन हौसला मिल्ने दाबी गरे। गोल्यानले नाफिजसँगको सहकार्यलाई भविष्यमा अझै मजबुत बनाउँदै पुरस्कारलाई निरन्तरता दिन अक्षय कोष खडा गर्न सकिने आशा व्यक्त गरे ।

सो अवसरमा नाफिजका अध्यक्ष ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमुलक पत्रकारिता प्रवर्द्धन गर्न पुरस्कारले ठूलो भुमिका खेल्ने उल्लेख गरे। अर्थतन्त्रमा मिडियाको भूमिका निजी क्षेत्रको प्रबद्र्धन सँगै लगानीको वातावरण बनाउँदै आर्थिक वृद्धिमा टेवा दिने भएको जिकिर गर्दै उनले समाचारको गुणस्तर र पत्रकारहरुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारले महत्वपूर्ण खेल्ने बताए ।

हस्ताक्षर समारोहमा सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशव बहादुर रायमाझी, कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली र महानिर्देशक डा.गोपालप्रसाद तिवारी तथा नाफिजका महासचिव नारायणप्रसाद पौडेल र कार्यसमिति सदस्यद्वय दीपक भट्ट तथा रोविन पौडेलको पनि उपस्थिति रहेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *