राजनीतिको अखडा बन्यो त्रिवि,अनेरास्ववियुले ताला खोल्यो, नेविसंघले लगायो

नेकपा एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा ४९ दिनदेखि लागेको तालाबन्दी खोल्ने वित्तिकै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ।

आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेको थियो। नेविसंघको गतिविधिरुद्ध अनेरास्ववियुले नाराबाजी गरेको थियो। त्रिवि अनेरास्ववियुका अध्यक्ष शम्भु भट्टका अनुसार सुरक्षाकर्मी र स्थानीयको रोहबरमा तालाबन्दी खोलिएको थियो। आफूहरुको सहमतिबिना ताला खोलिएको भन्दै फेरि नेविसंघले तालाबन्दी गरेको छ।

नेविसंघले परीक्षाको प्रश्न पत्रमा लापरबाही गरेको भन्दै २७ असारदेखि त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो। उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनमा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नरहेको बताए। नेविसंघका कार्यकर्ताहरुले शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबरजस्ती प्रवेश गरेर कागजातहरु खोसेर लगेका थिए।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वविद्यालयका कुलपति हुन् । उनीनिकटको विद्यार्थी भ्रातृ संगठन नेविसंघले भने महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ तर उनी भने मौनता साँधेर बसिरहेका छन् । नेविसंघसहित विभिन्न संघसंगठनले लगाएको तालाबन्दी जोड्ने हो भने विश्वविद्यालयमा ३ सय दिन तालाबन्दी भइसकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *