राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएका नागरिकता विधेयकलाई दफावार छलफलका लागि विषयत समितिमा पठाइएको छ । राष्ट्रिय सभाले राष्ट्रपतिबाट १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
आतइबार बसेको पहिलो बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको बेहोरा र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल भएको थियो भने आजैको दोस्रो बैठकले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाउने प्रस्ताव पारित गरेको हो । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरेका थिए ।
सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । अब यो विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।
समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिन्छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार बस्नेछ ।
राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।






