पाँच दल विरुद्ध कसरी भिड्ला एमाले ?

आम चुनावको मिति घोषणा हुने तयारीसँगै राजनीति दलहरू तयारीमा जुटेका छन् । सरकारमा रहेका ५ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिने तयारीमा छन् ।

प्रमुख विपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा जाने तयारमा छ। स्थानिय चुनाब सकसपुर्ण बनेपछि नेकपा एमालेलाई अबको निर्वाचनमा पनि सहज देखिएको छैन् ।

नेकपा एमाले मूलतः वर्तमान गठबन्धन सरकारले गरेका गल्तीलाई चुनावी मुद्दाका रुपमा अगाडि सार्ने रणनीतिमा छ । त्यसैको तयारी स्वरुप एमालेले एमालेले राजधानीमा आज महँगी र भ्रष्टाचारविरुद्ध भन्दै प्रर्दशन गरेको छ ।

स्थानीय निर्वाचनका बेला जस्तै पार्टी प्रवेश अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी अगाडि बढाउने एमालेको योजना छ । एमालेले मतवृद्धिका लागि मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदाताको नाम समावेश गर्न अभियान सञ्चालन गरिरहेको छ ।

सूचीका दोहोरो नाम हटाउन निर्वाचन आयोगको ध्यानाकर्षणसहित पहल गर्ने, आम जनसमुदायमा पार्टीका नीति र एजेन्डाको व्यापक प्रचारलाई अगाडि बढाउने काममा एमाले लागेको छ । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका कामको सशक्त प्रचार गर्ने कामलाई एमालेले प्राथमिकतामा राखेर प्रचार गरिरहेको छ ।

असार १९ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले चुनावी तयारीका लागि गरेको निर्णय सर्कुलर गर्दै एमाले अध्यक्ष ओलीले चुनाव जित्न भरपर्दो सहयात्री खोज्ने प्रष्ट पारेका थिए । तर, एमाले आफैँ भरपर्दो सहयात्री कसलाई बनाउने भन्नेमा अस्पष्ट छ । स्थानीय चुनावमा जस्तै सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरुलाई समेटेर चुनावी मैदानमा जाने एमालेको तयारी छ।

राजनीतिशास्त्री लोकराज बराल एमाले मात्र नभएर अन्य कुनै पनि राजनीतिक दलको चुनावी रणनीति नै नभएको बताउँछन् । उनका अनुसार एमाले चुनावी एजेन्डामा तयारी गर्नेभन्दा बढी गठबन्धन भत्काउनेमा केन्द्रित छ । सत्ताधारी दल चाहिँ गठबन्धन जोगाउने मात्र ध्याउन्नमा छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *