माओवादी नेता जनार्दन शर्माले आफू फेरि अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न नजाने बताएका छन् ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रालय नफर्किने भएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता गराएको आरोपमा पदबाट राजीनामा दिएका शर्माले निकट नेताहरूलाई आफू अर्थमा नफर्किने बताएका हुन् ।
अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपबारे छानबिन समितिले ‘क्लिन चिट’ दिएपछि निकट नेताहरूसँग भएको छलफलमा शर्माले आफू अर्थमा हाल नफर्कने बताएको स्रोतले दाबी गरेको छ ।
शर्माले आफूनिकट माओवादी नेताहरूसँगको छलफलका क्रममा तत्कालै अर्थमन्त्रालयमा फर्किने पक्षमा नरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अर्थमा जनार्दनलाई नै फर्काउन लागि परेका बेला उनले भने तत्कालै नफर्किने योजना बनाएका हुन् ।
माओवादीका केही नेताहरूले फेरि अर्थमन्त्रालय सम्हाल्न आग्रह गर्दा उनले अर्थमा नफर्किने अडान लिएका हुन् । १७ दिन लगाएर छानबिन पूरा गरेपछि संसदीय समितिका संयोजक लक्ष्मणलाल कर्णले संसदमा पेश गरेको प्रतिवेदनमा अर्थमा अनधिकृत व्यक्ति नपसेको र करका दर पनि हेरफेर नभएको उल्लेख छ ।
यससँगै जनार्दनले दुवै आरोपबाट सफाइ पाइसकेका छन् । यस्तोमा आइतबारसम्म जनार्दनलाई अर्थमा फर्काएर शपथ खुवाउने चर्चा भइरहेका बेला उनी आफैंले भने नफर्किने बताएका हुन् ।
शनिबार मात्रै एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले जनार्दनले कुनै गल्ती नगरेको बताउँदै सफाइ पाइसकेकाले पुन: जिम्मेवारीमा फर्काउन सक्ने संकेत गरेका थिए । तर जनार्दनले आफू अर्थमा फर्किने पक्षमा नरहेको बताएपछि अर्थमन्त्री को बन्ला बन्ने चासोको विषय बनेको छ ।
यद्यपि आइतवार ३ बजे बस्ने स्थायी कमिटीमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको दबाब आएमा आफ्नो निर्णयमा जनार्दनले पुनर्विचार गर्ने एक नेताले बताएका छन् । यसअघि माओवादीका अर्का नेता वर्षमान पुनले जनार्दन नै अर्थमा फर्किने बताएका थिए ।
शर्मालाई अर्थमन्त्री बनाउन प्रचण्ड मात्र होइन बालुवाटारबाट प्रधानमन्त्री देउवा पनि पुरै सकारात्मक छन् ।






