एसपीपीलाई एमालेले चुनावी अजेण्डा बनाउन खोज्यो : कांग्रेस प्रवक्ता महत

 नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)ले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) लाई चुनावी अजेण्डा बनाउन खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, ‘यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर अजेण्डाविहीन बनेको एमालेले एपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।’

प्रवक्ता महतले एमाले गएको स्थानीय तहको निर्वाचनपछि अजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा. महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए।

फरक प्रसङ्गमा उनले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनःसञ्चालनको सम्भावना कमै रहेको बताए। निजी क्षेत्रलाई प्रतिस्पर्धीरुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे। निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने धारणा उनको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *