रास्वपा महाधिवेशन आजदेखि, पार्टी सभापति र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ। पार्टीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले प्रतिनिधि छनोट, महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका काम सम्पन्न भएको जानकारी दिए। महाधिवेशनमा देशभरबाट तीन हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले पार्टी विधान संशोधन गर्दै केन्द्रीय समितिलाई १२१ सदस्यबाट विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव पारित गरेको छ।

संशोधित व्यवस्थाअनुसार प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन् भने पदाधिकारीमा महिला सहभागिता अनिवार्य बनाइनेछ।

पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ।

उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

विधान संशोधन प्रस्तावअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने ५१ जना सदस्य सभापतिले समावेशिताका आधारमा मनोनयन गर्ने व्यवस्था रहनेछ।

रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति, विधान संशोधन तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राखेको जनाएको छ।

पार्टीका अनुसार हालसम्म ६१० पालिका, चार हजार ६३ वडा र ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *