गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

धनकुटा । गर्मी बढेसँगै पूर्वी तराईका विभिन्न सहरबाट भेडेटार पुग्ने पर्यटकको संख्या बढेको छ।

चिसो मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध भेडेटारमा पछिल्ला वर्षहरूमा स्थानीय अर्गानिक तरकारी र फलफूल पनि पर्यटकको आकर्षण बनेका छन्।

भेडेटार चोकका तरकारी पसलमा रायोको साग, अकबरे खुर्सानी, सिमी, बोडी, आलु र किबीलगायत स्थानीय उत्पादन किन्ने पर्यटकको भीड लाग्ने गरेको व्यवसायीहरू बताउँछन्।

धनकुटा र भोजपुरका विभिन्न गाउँबाट ल्याइने ताजा उत्पादन साँझसम्म बिक्री हुने गरेको छ।

स्थानीय व्यवसायी दिपेश मगरका अनुसार पहाडी क्षेत्रका ताजा र कम विषादी प्रयोग भएका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ।

पर्यटकले फर्किने क्रममा आफ्ना लागि मात्र नभई कोसेलीका रूपमा समेत तरकारी र फलफूल लैजाने गरेका छन्।

पर्यटकको बढ्दो मागसँगै स्थानीय किसानले उत्पादन विस्तार गर्न थालेका छन्।

यसले कृषकलाई बजारको सुनिश्चितता मिल्नुका साथै ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको छ।

होटल एसोसिएसन भेडेटारका अनुसार गर्मीयाममा दैनिक ३० देखि ४० हजारसम्म पर्यटक भेडेटार पुग्ने गरेका छन्।

सप्ताहन्त र सार्वजनिक बिदामा यो संख्या अझ बढ्ने गरेको छ। पर्यटनसँगै कृषि उत्पादनको व्यापार बढ्दा भेडेटारमा स्थानीय आर्थिक गतिविधि समेत विस्तार हुँदै गएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *