काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए।
उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए ।
उनले भने,‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थियो तर विडम्बना त्यस्तो हुन सकेन । विद्वान अर्थमन्त्री टिभीमा देख्दा, बिगतमा वक्तव्यहरु सुन्दा केही गर्नुहुन्छ भन्ने लागेको थियो । तर जब बजेट सदनमा प्रस्तुत गर्नुभयो त्यसको सार चित्तबुझ्दो लागेन । बजेटमा समेटीएका विषयवस्तुभन्दा पनि अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई गम्भीर बनायो । जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली छ त्यो उहाँमा देखिएन ।’
सांसद महरले अर्थमन्त्री प्रतिपक्षप्रति हेपाहा र अपमानजनक शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उनले त्यस्तो व्यवहारले अर्थमन्त्रीको विद्वतामाथि नै प्रश्न खडा गरेको बताए।
उनले अनुसार बजेटले दूरदराजका क्षेत्र, गरिब तथा विपन्न समुदाय, महिला, बालबालिका, दलित र पछाडि पारिएका वर्गका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेटलाई गैरजिम्मेवारको संज्ञा दिए ।
उनले भने,‘उहाँ प्रतिपक्षलाई हेप्ने र अपमान गर्ने तरिकाले प्रस्तुत हुनुभयो । त्यसले उहाँको विद्वतामाथि गम्भीर प्रश्न गरेको छ । बजेटले दुूरदराज देखेन । यसले गरिब तथा विपन्न समुदाय, महिला बालबालिका दलित देखेन । एक प्रकारले भन्ने हो भने बजेट गैरजिम्मेवार, हावादारी र भरिएको जस्तो बजेट ल्याउनु भयो । त्यसले दुःखी बनाउनुभयो । जनमतको घोर अपमान गर्नुभयो । म यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु अर्थमन्त्रीज्यूको ।’ उनले बजेट विभेदकारी भएको पनि टिप्पणी गरे ।






