दुई सातादेखि प्रहरीको नियन्त्रणमा रहेका ‘बिवाइडी’ का ७ सय ७५ गाडी फुकुवा

काठमाण्डौ। मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका ‘बीवाइडी’ कम्पनीको चिनियाँ विद्युतीय गाडी फुकुवा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले ती गाडीलाई सम्बन्धित पक्षको जिम्मा लगाइएको जानकारी दिए । सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशनअनुसार फुकुवा गरिएको उनको भनाइ छ ।

मुस्ताङको उत्तरी कोरलानाका हुँदै गएको जेठको दोस्रो र तेस्रो हप्तामा बीवाइडी कम्पनीका ७ सय ७५ विद्युतीय गाडी नेपाल भित्रिएका थिए । ती मध्ये ६४९ वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँच पास गरेको जनाइएको छ । कोरला नाकाबाट भित्रिएका ती गाडीको पैठारी प्रक्रियामा कैफियत भएको आशङ्कामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो ।

साइमेक्स ईंकले खरिद गरी कोरला नाकाबाट ती सबै विद्युतीय गाडी नेपाल भित्र्याएको थियो । कैफियत रहे÷नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन भएको थियो ।

छानबिन समितिको टोलीले गएको जेठ २१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका गाडीको स्थलगत अनुगमन गरी अनुसन्धान गरेको थियो । समितिको प्रारम्भिक प्रतिवेदनअनुसार कोरला नाकाबाट नेपाल भित्रिएका विद्युतीय गाडीमा कैफियत फेला नपरेको निष्कर्ष निकालेको बताइएको छ ।

बीवाईडी गाडीको आयातकर्ता साईमेक्स इंकमाथि बजेटको अघिल्लो दिन मात्रै कर बढ्ने सूचना पाएपछि ठूलो संख्यामा सवारीसाधनको भन्सार पास गराएको आरोप थियो।  सरकारी कर्मचारीकै मिलेमतोमा यस किसिमको धन्दा हुँदै आएको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ६ कर्मचारीको सरुवा समेत गरिएको थियो। तर, छानविन समितिले भने ती गाडीहरु नियमअनुसार नै नेपाल भित्रिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *