काठमाडौं । भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लागू गरेपछि नेपालगञ्ज भन्सार कार्यालयको राजस्व संकलन बढेको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार सीमा नाकामा कडाइ गरिएपछि चैत र वैशाखमा राजस्व संकलन उल्लेख्य रूपमा वृद्धि भएको हो।
फागुनमा १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चैतमा २ अर्ब १४ करोड २५ लाख र वैशाखमा १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ संकलन भएको छ।
उनका अनुसार सीमापारि भारतीय बजार रुपैडिहा पुगेर किनमेल गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागू गरिएको नीतिले राजस्व बढाउनुका साथै नेपालगञ्जको व्यापार व्यवसायलाई समेत चलायमान बनाएको छ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालगञ्ज भन्सारले १६ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आवका लागि २४ अर्ब ५४ करोड ५७ लाख रुपैयाँ राजस्व लक्ष्य निर्धारण गरिएको थियो।
नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सीमा नाकामा कडाइ भएपछि उपभोक्ताको किनमेल स्थानीय बजारमै केन्द्रित हुन थालेको बताए।






