चीनको आग्रह : लगानीका लागि अनुकूल वातावरण बनाऊ

काठमाडौँ ।चीनले नेपालमा चिनियाँ लगानी आकर्षित गर्न निष्पक्ष, पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।

बेइजिङमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने बताउँदै त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका हुन्।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार वाङले नेपालमा चिनियाँ लगानी विस्तारका लागि अनुकूल नीति तथा व्यावसायिक वातावरणको अपेक्षा व्यक्त गरेका छन्।

हाल नेपालमा चिनियाँ लगानी तथा वित्तीय सहयोग जलविद्युत्, ऊर्जा, सडक, विमानस्थल र सिमेन्ट उद्योगलगायत क्षेत्रमा केन्द्रित छ।

भेटका क्रममा दुवै पक्षले बहुपक्षीय मञ्चहरूमा सहकार्य थप सुदृढ गर्ने विषयमा पनि छलफल गरेका थिए।

वाङले उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत विद्युत् प्रसारण सञ्जाल, सडक, सीमा नाका तथा हवाई यातायात पूर्वाधार विकासमा सहकार्य विस्तार गर्न चीन तयार रहेको बताएका छन्।

उनले चीन नेपालका लागि विकास र समृद्धिको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *