काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले हाल देशको हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ।






