विश्वकप फुटबलमा एसियाली पावरहाउस जापानले बलियो युरोपियन टोली नेदरल्यान्ड्स सँग २-२ गोलको बराबरी खेलेको छ। अमेरिकाको डलासमा भएको विश्वकपको आफ्नो पहिलो खेलमा जापानले अन्तिम समयमा गरेको उत्कृष्ट गोल उसलाई डच टोली विरुद्ध अंक खोस्न निर्णायक बन्यो।
खेलमा जापानका मिडफिल्डर दाइची कामादाले खेल सकिन दुई मिनेट बाँकी रहँदा हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण १ अंक दिलाए। समूह चरणमा ब्राजिल र मोरक्को पछि प्रतिक्षित खेलका रुपमा रहेको यो प्रतिस्पर्धा पहिलो हाफमा अपेक्षाकृत रुपमा दुबै टोली समालिएर प्रस्तुत भएका थिए। तर दोस्रो हाफमा खेल रोमाञ्चक बन्दा सबै ४ गोल सम्भव बन्यो।
रोनाल्ड कोएमानको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सले लिभरपुलका कप्तान भर्जिल भान डाइक र वेस्ट ह्याम युनाइटेडका फरवार्ड क्रिसेन्सियो समरभिलको गोलमा अग्रता लिन सफल भयो। दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमै नेदरल्यान्ड्सले अग्रता लियो। रायन ग्राभेनबर्खको उत्कृष्ट क्रसमा भर्जिल भान डाइकले सटीक हेडमार्फत टोलीले जापान विरुद्ध १-० को अग्रता बनायो।
तर जापानले तत्काल जवाफ फर्कायो। ५७औँ मिनेटमा केइतो नाकामुराको शक्तिशाली प्रहारलाई डच गोलरक्षक बार्ट फेर्ब्रुगेनले रोक्न नसक्दा खेल १-१ को बराबरीमा पुग्यो। तर डच टोलीले खेलमा पुन अग्रता बनाउन लामो समय कुर्नु परेन्। ६४औँ मिनेटमा नेदरल्यान्ड्सका क्रिसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट गरेको आकर्षक प्रहार जापानी गोलरक्षक जियोन सुजुकीको पहुँचमा पुग्न असफल हुँदा टोलीले २-१ को अग्रता बनायो।
तर त्यसपछि निरन्तर रुपमा आक्रामक बनेको जापानले अन्तिमसम्म हार नमान्दा दुई पटक पछि परेको अवस्थामा बरबरी गर्दै अंक खोस्यो। जापानले खेलको ८८औँ मिनेटमा कोकी ओगावाको प्रहारलाई दाइची कामादाले चलाखीपूर्ण हेडमार्फत जाली चुमाए। यो गोल सँगै जापानी समर्थकहरु र खेलाडीहरु उत्साहित बन्दै बलियो टोली विरुद्ध १ अंक लिएर प्रतियोगितामा साहसिक प्रदर्शनको सुरुवात गर्न सफल भए।






