काठमाडौं । नेपाल एसबीआई बैंकले आगामी असार १ गते देखि लागू हुने गरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.१० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ। असार महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका बेला यस बैंकले भने निक्षेपको ब्याजदर बढाएको हो।
सञ्चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार जेठको तुलनामा असारमा निक्षेपको ब्याजदर घटेको छ। जसमा ११ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ६ वटा बैंकले ब्याजदर घटाएका छन्।
नयाँ व्यवस्थाअनुसार तीन वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ४.१० प्रतिशत ब्याजदर कायम गरिएको छ। यस्तै दुईदेखि तीन वर्षसम्मको निक्षेपमा ३.४० प्रतिशत, एकदेखि दुई वर्षसम्मको निक्षेपमा ३.२० प्रतिशत तथा छ महिनादेखि एक वर्षसम्मको निक्षेपमा ३ प्रतिशत ब्याजदर तोकिएको छ।
बचत खातातर्फ विभिन्न योजनाअनुसार २.७५ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याजदर कायम गरिएको बैंकले जनाएको छ। साधारण बचत खातामा २.७५ प्रतिशत ब्याजदर रहनेछ भने केही विशेष बचत योजनामा २.८० प्रतिशतसम्म ब्याज उपलब्ध हुनेछ।
विदेशी मुद्रामा राखिने निक्षेपतर्फ अमेरिकी डलर बचतमा ३ प्रतिशत ब्याजदर तोकिएको छ। युरो र पाउण्ड स्टर्लिङ बचतमा भने ०.५० प्रतिशत ब्याजदर कायम गरिएको छ।
कर्जातर्फ बैंकले शिक्षा कर्जामा ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको छ। गृह कर्जाको स्थिर ब्याजदर ८.९९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म रहनेछ। यस्तै सवारी साधन तथा हायर पर्चेज कर्जामा ८.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको छ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला तीन महिनाको औसत आधारदर (बेस रेट) ५.३९ प्रतिशत रहेको छ भने चालु आर्थिक वर्षका लागि आधारदर ५.२५ प्रतिशत कायम गरिएको छ। स्प्रेड दर ३.२८ प्रतिशत रहेको बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको र बजारमा ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरलाई निक्षेपकर्ता तथा ऋणी दुवैका लागि चासोका साथ हेरिएको छ।
कुन खातामा कति पाईन्छ ब्याज ?







