प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन गरेर सत्तापक्षले प्रमुख प्रतिपक्षलाई एक्ल्याउने प्रयास गरेको बताएको छ ।
मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेलाई एक्ल्याउने प्रयास भए पनि डटेर सामना गरेको बताएका हुन् ।
उपाध्यक्ष नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले काम गर्नु आश्चर्य भएको बताए ।
उनले सबै दलहरु मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभई नेपालमा मात्रै भएको जिकिर गरे । उनले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताए ।
उपाध्यक्ष नेम्वाङले भने, ‘स्थानीय निर्वाचनको बारेमा म प्रष्ट छु । नेकपा एमाले जो प्रमुख प्रतिपक्ष हो, राज्यको अभिन्न अंग हो । संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।
तर आश्चर्यको कुरा सत्तामा रहेका साथीहरुले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले जुन काम कारबाही गर्नुभयो, त्यो आश्चर्यको कुरा हो । त्यो कतै भएको छैन, यहीँ नेपालमा मात्र भएको छ । अहिले हामीले गरेको कामबाट आएको परिणामबाट हामी उत्साहित छौँ ।’







